
काठमाडौं । पाकिस्तानले टि२० एसिया कप २०२२ को सुपर फोरमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ ।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।
पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेले ।
त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
भारतका विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६० रनमा आउट भए । कोहलीको यो लगातार दोस्रो अर्धशतक हो । कोहलीले हङकङविरुद्ध ५९ रनको इनिङ खेलेका थिए ।
समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतले अव मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ । शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।