अमेरिका र भारतको स्वार्थ पूरा नभए मंसिर ४ मा चुनाव हुँदैन : किशोरकुमार विश्वास (भिडिओसहित)

काठमाडाैं । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासले मंसिर ४ गतेको चुनाव सर्ने आशंका गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष विश्वासले सात दलीय सत्ता गठवन्धन अमेरिका र भारतको ईशारामा गठन भएकाले गठवन्धनले बहुमत ल्याउने निश्चित नभए चुनाव नहुने दाबी गरेका हुन् ।

विश्वासका अनुसार सरकार र सत्ता गठवन्धन भारत र अमेरिकालाई रिझाउन मात्र उद्धत रहेको छ । सरकार र गठवन्धनले भारत र अमेरिकाको स्वार्थमा मात्र काम गरिरहेकाले ती शक्तिले पनि यिनीहरुकै गठजोड चाहेका छन ।

विश्वास भन्छन्, ‘एमसीसी, एसपीपी तथा नागरिकता विधेयक कस्का एजेण्डा हुन् ? पटक–पटक भारत र अमेरिकाबाट उच्चस्तरीय भ्रमण किन भैरहेका छन् ? चुनावको मुखमा राष्ट्रघाती नागरिकता विधेयक कसको स्वार्थमा ल्याइएको हो ? ’

अहिलेको सरकार र गठवन्धनले भारतीय संस्थापन पक्ष विजेपी तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुशी बनाउन नै नागरिकता विधेयक ल्याएको विश्वासको दाबी छ । मधेशमा हालसम्म ८० लाख भारतीयलाई नागरिकता बाँडिएको जानकारी दिँदै उनले संसदबाट विधेयक पास भएसँगै तराईमा नागरिकता लिन भारतीयहरुको लाइन लाग्न थालेको बताए ।

उनका अनुसार देशको कुल जनसंख्याको ५२ प्रतिशत जनसंख्या तराईंमा पुगको छ । ती मध्ये २७ प्रतिशत मात्रै नेपाली रहेको उनको भनाइ छ । अहिले तराईमा पञ्जाबी, बंगाली र मुसलमानको संख्या बढेको छ । कतिपय मुसलमान त चुनावमा जितेर स्थानीय तहको प्रमुखसमेत भैसकेका छन ।

राष्ट्रपति विद्या भण्डारीले यो विधेयक तत्काल खारेज गर्नुपर्ने विश्वासको सुझाव छ । अन्यथा यही विधेयकका आधारमा मधेस सरकारले कालान्तरमा आफूलाई अलग राष्ट्र घोषणा गर्न सक्ने उनको आशंका छ ।

विश्वासका अनुसार अहिले नेपालमा अमेरिका र भारतीय इशारामा स्वतन्त्र तिब्बत अभियान चलिरहेको छ । नेपाली अनुहारका नेताहरु यसमा सक्रियतापूर्वक लागेका छन । यो कुरा चीनले बुझेपनि तत्काल आक्रामकरुपमा प्रस्तुत हुन सकेको छैन । यसले अन्ततः मुलुकलाई दुर्भाग्यपूर्ण अवस्थामा लैजाने छ ।

मुलुकमा हाल अस्तित्वमा रहेका कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत तराई केन्द्रीत दलहरु आउँदो चुनावसँगै शक्तिहीन हुने विश्वासको दाबी छ । विश्वभर परम्परागत दल र नेताहरु कमजोर भैरहेको र नेपालमा पनि स्थानीय तहको निर्वाचनमा त्यो देखिएको उनको भनाइ छ ।

जनतासमेत सचेत भइसकेकाले आउँदो चुनावबाट देशभरबाट नयाँ अनुहार आउने र तीनिहरुले नै मुलुकको काँचुली फेर्ने उनी बताउँछन् ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१