
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘परमादेशको सरकार’ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परमादेशकै कारण भेट गर्ने मौका पाएको र सँगै बसेर काम गर्न पाइएकाे जवाफ दिएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाइएकाे जवाफ फर्काएका हुन् ।
बैठकमा देउवाले भने, ‘हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’
प्रधानमन्त्री देउवाले परमादेशका कारण भेट गर्ने मौका पाएको टिप्पणी पनि गरे । ‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु’ उनले भने ।
यस्तै, वर्तमान सरकारले तीन तहको निर्वाचन गर्ने सुअवसर पाएकोमा प्रधानमन्त्री देउवाले खुशी व्यक्त पनि गरे ।