• २०८३ जेठ २२
  • 2026 June 05, Friday

उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत् बुक गर्न सकिने

काठमाडाैं । नेपालको डिजिटल विकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारिक सहकार्य गर्ने सम्झौता गरेका छन् ।

अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एपमार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ ।

एप प्रयोगकर्ताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सक्नेछन् । उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सक्नेछन् ।

असाेज महिनादेखि यो एप मार्फत् उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पूरा गर्न मद्दत पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, ‘इसेवाले जहिले पनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ।’