
भारत । उत्तराखण्डमा भाजपा नेता विनोद आर्यका छोरा पुलकित आर्य एक रिसेप्सनिस्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
भारतको उत्तराखण्ड प्रहरीले अंकिता भण्डारी नामकी युवतीको शव शनिबार बिहान फेला पारेको छ ।
अंकिताको शव ऋषिकेशको चिला नहरबाट फेला परेको हो । प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई नछोड्ने बताएका छन् ।
अंकिताको हत्यामा संलग्न पुलकित आर्यसहित रिसोर्टका प्रबन्धक सौरभ भास्कर र सहायक प्रबन्धक अंकित गुप्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा उनले हत्यापछि अंकिताको शव चिला नहरमा फालेको बताए । प्रहरी नायब उपरीक्षक शेखरचन्द्र सुयालका अनुसार प्रारम्भिक सोधपुछमा उनले झुक्याउन खोजे पनि कडाइ गरेपछि सत्य स्वीकार गरेका थिए ।