
ओखलढुंगा । ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए । हाल चिशंखुगढी गाउँपालिका ४ मा रहेको कालिका आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक ठाकुर सोही स्थानमा भइ कुमार राईको घरमा डेरामा बस्ने गरेका थिए ।
असोज ७ गते बिहान शिक्षक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए । मृतकको टाउको तथा शरीरको अन्य भागमा समेत कुटपिट गरी घाइते बनाइ नाक, मुख र घाँटीमा गम्छाले बाँधी मुखमा सिरानीले थिची हत्या गरेको अवस्थामा शव भेटिएको थियाे ।
प्रहरीका अनुसार मृतक ठाकुरले टर्चर दिएको कारण युवतीले ठाकुरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ ।
ठाकुर पहिले नै विवाहित रहेको छलमायासँग विवाह गर्न पनि नमानेको र छलमायाले अन्यत्र विवाह गर्न खोज्दा नाङ्गो फोटो र भिडियो भाइरल गरिदिने धम्की दिएको पक्राउ परेकी धमलाले प्रहरीलाई बताएकी छिन् । आफू विवाह पनि नगर्ने र अन्यत्र विवाह गर्न पनि नदिने तथा बारम्बार धम्की दिने गरेपछि आफूले ठाकुरको हत्या गरेको आरोपितले प्रहरीसमक्ष स्वीकार गरेकी छिन् ।