
दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल केही समयअघि मुम्बई एयरपोर्टमा ‘ब्ल्याक वाटर’ को बोतलसहित देखा परेकी थिइन् । पत्रकारले उनलाई सोधेका थिए, बोतलको पानीमा खास के छ ?
उनले मुस्कुराउँदै जवाफ दिइन्, ‘यो पिउने पानी हो । तपाई पनि एक पटक पिउनुहोस् । तपाईलाई पनि मन पर्छ ।’
जब उनलाई ‘ब्ल्याक वाटर’ कहिलेदेखि पिउनुहुन्छ भनेर सोधियो, उनले जवाफ दिइन्, ‘लामो समयदेखि ।’
केही दिनअघि श्रुति हसनले पनि सामाजिक सञ्जालमा आफू पनि ‘ब्ल्याक वाटर’ पिइरहेको बताएकी थिइन् । उनले एक भिडियो रेकर्ड शेयर गरेकी थिइन् जसमा ब्ल्याक वाटरको ग्लास देखिन्थ्यो ।
यस भिडियोमा श्रुतिले भनिन्, ‘जब मैले पहिलो पटक ब्ल्याक वाटरको बारेमा सुनें, यो नयाँ कुरा थियो । वास्तवमा, यो ब्ल्याक वाटर होइन । यो क्षारीय पानी हो । यसको स्वाद सामान्य पिउने पानी जस्तै छ ।’
यसअघि सञ्चार माध्यमहरुमा मलाइका अरोरा, उर्वशी रौतेलालगायत धेरै फिल्म स्टारले पनि ब्ल्याक वाटर प्रयोग गर्ने गरेको खबर आएको थियो ।
‘ब्ल्याक वाटर’ के हो ?
‘ब्ल्याक वाटर’ लाई ‘क्षारीय पानी’ पनि भनिन्छ । मेडिकल जर्नल ‘इभिडेन्स बेस्ड कम्प्लिमेन्टरी एन्ड अल्टरनेटिभ मेडिसिन’(ईबीसीएएम) का अनुसार जिम वा शारीरिक व्यायाम गरेपछि वा शरीरबाट धेरै पसिना बगेको अवस्थामा ब्ल्याक वाटरको प्रयोगले केही फाइदा गर्छ । वास्तवमा, यसले शरीरमा इलेक्ट्रोलाइट्सको आपूर्ति बढाउँछ ।
ईबीसीएएमका अनुसार प्रयोगशालामा मुसामा गरिएको परीक्षणमा क्षारीय पानीले शरीरको तौल सन्तुलनमा राख्न मद्दत गर्छ भन्ने खुलासा भएको छ । यसको प्रयोगले मेटाबोलिज्मको प्रक्रिया (पाचन प्रणाली) पनि तेज हुन्छ ।
साधारण पानीको पिएच लेभल ७ हुन्छ भने ब्ल्याक वाटरको पिएच लेभल ८ वा ९ सम्म हुन्छ । यसमा थुप्रै प्रकारको मिनरल्स र प्राकृतिक एन्टिअक्सिडेन्ट हुन्छ जसले मानव शरीरलाई फाइदा पुर्याउँछ । यसबाहेक यसले हाम्रो पेटको एसिडिटी स्तरको पनि मरमत गर्न मदत गर्छ । ब्ल्याक वाटरमा फलविक एसिड हुन्छ, जसले गर्दा यो पानी कालो रङकाे हुन्छ ।
केही कम्पनीहरूले आफ्नो विज्ञापनमा ७ माथिको पीएच लेभल भएको क्षारीय पानीले बुढ्यौलीका लक्षणहरू कम गर्ने दाबी पनि गर्ने गरेका छन् । यद्यपी यी दावीहरूको पछाडि कुनै वैज्ञानिक प्रमाण भने छैन ।
‘ब्ल्याक वाटर’मा के हुन्छ ?
हाम्रो शरीरमा ७० प्रतिशत पानी हुन्छ । हामीले पर्याप्त मात्रामा पानी पिउनु आवश्यक छ । किनभने पर्याप्त पानी भएमा शरीरका सबै अंगहरूमा सही मात्रामा पुग्छ र सबै कुरा राम्रोसँग चल्छ ।
पानीले हाम्रो शरीरबाट नचाहिने चीजहरू हटाउन पनि मद्दत गर्छ । अर्कोतर्फ, यसले शरीरको तापक्रम कायम राख्छ र शरीरका विभिन्न भागहरूमा खनिज र लवणको आपूर्तिमा भूमिका खेल्छ । खाना राम्ररी पचाउन पनि पानीको महत्त्वपूर्ण भूमिका हुन्छ । ब्ल्याक वाटर बेच्ने कम्पनीहरूले माथि उल्लेखित कुराहरू अझ राम्रो तरिकाले गर्न सकुन् भनेर आफ्नो उत्पादनमा ७० भन्दा बढी मिनरल्स थपिरहेको बताउँछन् ।
ब्ल्याक वाटरमा म्याग्नेसियम र क्याल्सियम जस्ता खनिजहरू पाइन्छ । विभिन्न कम्पनीका उत्पादनहरूमा खनिजको अनुपात फरक–फरक हुन्छ । ब्ल्याक वाटरले शरीरमा मेटाबोलिजमको प्रक्रियालाई तीव्र बनाउँछ, पाचन सुधार गर्छ, एसिडिटी घटाउँछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने कम्पनीहरूको दाबी छ ।
के, ब्ल्याक वाटरको ‘साइड इफेक्ट’ छ ?
ब्ल्याक वाटरले सबै ठिक हुन्छ भन्ने होइन । लामो समयसम्म ब्ल्याक वाटर प्रयोग गर्दा केही साइड इफेक्ट हुनसक्ने केही अनुसन्धानले पनि संकेत गरेको छ । फिनल्याण्डको टर्कु विश्वविद्यालयकी प्रोफेसर मारिना मार्नले गरेको अनुसन्धानले ब्ल्याक वाटरको अत्याधिक प्रयोगले बान्ता हुने र शरीरभित्रको तरल पदार्थको पीएच स्तरमा परिवर्तन हुनसक्ने बताएको छ ।
चिकित्सकका अनुसार एल्कलाइन वा ब्ल्याक वाटरले मान्छेको क्षमता अनुसार असर गर्छ । यसैकारण ब्ल्याक वाटर सेवन गर्नुभन्दा पहिले चिकित्सकसँग परामर्श लिनुपर्छ ।
भारतमा ब्ल्याक वाटर थुप्रै वेबसाइटमार्फत् प्राप्त गर्न सकिन्छ । एउटा भारतीय कम्पनीले यसको उत्पादन पनि गर्छ । आधा लिटरको ६ वटा बोतलको सेट भारु ५ सयमा बिक्री हुने गरेकाे छ ।