बाँकेबाट हराएका दुई बालिका पोखरामा भेटिए

नेपालगञ्ज  । बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन्।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बिक र निशा परियार एकसातापछि पोखरामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले दुबै बालिका पोखरामा सकुशल अवस्थामा फेला परेको जानकारी आएको बताए। उनिहरु यही असोज ४ गते राती घरबाटै हराएका थिए।

हराएको सातदिनपछि उनि दुबैजना पोेखरामा फेला परेको डीएसपी मल्लले बताए। ‘बालिकाहरु पोखरामा फेला परेको जानकारी हामीलाई आएको छ, उनीहरु कसरी र को सँग त्यहाँ पुगे भन्ने कुरा अनुसन्धानबाट खुल्छ,’ उनले भने। दुबैका परिवारले आफन्त कहाँ जताततै खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् ।

ईलाका प्रहरी कार्यालय कुसुमका सई पुष्करराज जोशीले बालिकाहरु पोखरामा भेटिएको खोजी गर्न त्यहाँ पुगेका परिवारकै सदस्यले जानकारी दिएको बताए।

जोशीले बन्दना बिक यसअघि परिवारसँग पोखरा गएको र त्यहाँबाट फर्केपछि पनि कहिले काही पोखरामा फोन गर्ने गरेको हुँदा त्यतै गएको शंका लागेर खोजी गर्न परिवारका सदस्यलाई त्यहाँ पठाएकोमा बालिकाहरु पोखरामा सकुशल अवस्थामा भेटिएको कुरा फोनमार्फत जानकारी आएको बताए।

गत मंगलबार बेलुका करिव ८ बजेतिर घरमा खाना खाएर सुत्ने क्रममा उनीहरु एक्कासी हराएका थिए। बालिका हराएको दुई दिनपछि ईलाका प्रहरी कार्यालय कुुसुममा खोजी गरिदिन निवेदन दर्ता गराइएको थियो।

दुबै बालिकाको आमा दोस्रो बिबाह गरेर अन्यत्रै गएका छन्। बुवाले दोस्रो बिबाह गरेपछि निशा मावली हजुरबुवासँग र बन्दना कान्छी आमा तथा हजुरआमासँग बस्दै आएकी थिइन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१