• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

बाँकेका ४ गाउँ डुबानमा, झन्डै ८० घरपरिवार विस्थापित

काठमाडौँ । अविरल वर्षापछि राप्ती नदी र डुडुवा खोलामा आएको बाढी गाउँमा पस्दा डुडुवा गाउँपालिकाका चार गाउँ डुबानमा परेका छन्।

गाउँपालिकाअन्तर्गत कृषि चौफेरी, बडर चौफेरी, छोड्कु चौफेरी र सीता पुरूवा गाउँ डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनका अनुसार डुबानबाट झन्डै ८० घरपरिवार विस्थापित भएका छन्। करिब दुई सय व्यक्तिलाई वडा नम्बर १, सीता पुरूवामा गाउँपालिकाले निर्माण गरेका तीनवटा भवनमा स्थानान्तरण गरिएको छ।

गाउँमा मानिसको कम्मरभन्दा माथि पानी बगे पनि मानिस र चौपायालाई हालसम्म कुनै क्षति नभएको फिल्डमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले जानकारी गराएको जिल्ला प्रहरी प्रवक्ता घर्तीले बताए।

बाढीले अन्नपात, लत्ताकपडा लगायत सबै कुरा भिजाएको र यसबाट करोडौं क्षतिको अनुमान गरिएको उनले जानकारी दिए।

डुडुवा गाउँपालिका राप्ती नदी र डुडुवा खोलाको बीचमा पर्ने भूभाग हो। राप्ती र डुडुवा दुवैमा बाढी आउँदा राप्तीको बाढीले खोला थुनिन पुगी दुवैको पानी डुडुवा गाउँपालिकामा पसेको डिएसपी घर्तीले जानकारी दिए।