बाढीको जोखिममा रहेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई सारियो

काठमाण्डौ  । राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सारिएको छ ।

बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

बाँकेका तल्लो तटीय क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको चौफेराका गणेश गुप्ताले बताउनुभयो ।

राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँ जोखिममा छन् । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दीलगायत बाढीको जोखिममा पर्छन् । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रमा पानी जमेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१