काठमाडौँ । नेकपा एमालेमा विद्रोहको लहर चलेको छ । आसन्न स्थानिय तहको निर्वाचनका लागि टिकटको बिषयलाई लिएर एमालेभित्र विद्रोह देखिएको हो ।
पार्टी अध्यक्ष केपि शर्मा ओलीले एकलौटी ढंगले टिकट वितरण गरेको भन्दै स्थानिय स्तरका नेताहरुदेखि लिएर र्शीष नेताहरुले रुष्ट हुँदै पार्टी परित्याग गरिरहेका हुन् ।
टिकटको सन्दर्भमा पार्टी अध्यक्ष ओलीको कार्यशैलीप्रति रुष्ट हुँदै एमाले नेता घनश्याम भूसालले पार्टी छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शनिवार मात्रै एमाले छाडेको घोषणा गरेका हुन्। लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गएको उनको निष्कर्ष रहेको छ । उनले स्वतन्तत्रबाट चुनवा लड्ने पनी घोषणा गरिसकेका छन् ।
नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले पनी स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेकीछिन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
नेकपा एमालेका प्रभावशाली नेता भीम रावलको ठाउँमा झपट बोहरालाई टिकट दिईए पछि अछाममा विद्रोह भएको छ । रावल अझामबाट एकल सिफारिस भएपनि पार्टीले प्रतिनिधिसभामा टिकट नदिएपछि जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन् । केन्द्रबाट टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयको बेवास्ता गरिएको नेताहरूको भनाई छ ।
नेकपा एमाले मोरङ सचिव रुपेश खतिवडाले पनी राजीनामा दिएका छन् । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति, सिद्धान्त, विधि पद्धति र प्रकृया विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्य भएको भन्दै आफ्नो असहमति रहेको उनले जनाएका छन् ।
टिकटकै बिषयलाई लिएर धरानमा पनी एमालेका नेताहरु विद्रोहमा उत्रिएका छन् । जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ दिइएपछि नेकपा एमालेका असन्तुष्ट नेताहरुले विद्रोहको तयारी गरेका हुन् । असन्तुष्ट नेताहरुले शनिबार भेला गरेर पार्टी नेतृत्वसँग निर्णय सच्याउन आग्रह गरेका छन् । ‘पार्टी नेतृत्वलाई आज राति १२ बजेभित्र निर्णय सच्याउन समय दिएका छौं । निर्णय नसच्चिए विद्रोह हुन्छ’, धरानका पूर्वमेयर मनोज मेयाङ्बोले भने । सुनसरी–१ बाट निवर्तमान सांसद जयकुमार राईको नाम एकल रुपमा सिफारिस भएको थियो । तर जसपासँग तालमेल गर्दा यो क्षेत्र जसपाको भागमा परेको छ । पार्टीले निर्णय नसच्याए बागी उम्मेदवारी दिने समेत भेलाले निर्णय गरेको छ ।