• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमाले महासचिव पाेखरेलकाे आराेप : प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरे

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा समेत दिएका छन् ।

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।’

साथै पोखरेलले पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिदै अन्य क्षेत्रका उम्मेदवारको टिकट समेत नदिएर समय गुजार्ने षडयन्त्र गरेको बताएका छन् ।

‘राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठवन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो’, पोखरेलले भनेका छन्, ‘रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रुपमा सफल बनाउ ।’

साहले जसपासँगको चुनावी तालमेल गलत भइरहेको बताएका बेला पोखरेलले त्यसको बचाउ गरेका हुन् । साहले जसपासँगको तालमेलपछि आफूसहित मधेसमा ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।