
काठमाडाैं । मंसिर ४ गतेको निर्वाचनका लागि टिकट बाँडफाँटकाक्रममा सत्ता गठवन्धन भित्र सर्वाधिक पेचिलो विषय बनेको क्षेत्र हो डोटी जिल्ला । हेभिवेट उम्मेदवारका कारण डोटी कसको भागमा पर्ने लामो रस्साकस्सीपछि नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले बाजी मार्न सफल भए ।
विगतमा नेकपा एमालेबाट लगातार निर्वाचन जितेका प्रेम आले यसपटक नेकपा एकीकृत समाजवादीमा छन् । उनको चुनाव चिन्ह कलम हो । डोटीबाटै कांग्रेसका वीरबहादुर बलायरले दाबी छोडेर कैलाली ४ मा गएपछि आलेलाई सहज भएको छ ।
समाजवादीका अध्यक्ष माधव नेपालले आलेको पक्षमा राखेको अडान र कांग्रेस सभापति देउवा पनि आलेप्रति लामो समयदेखि सकारात्मक भएकाले यसपटक उनका लागि जित सहज देखिन्छ । आलेको आफनै जनाधार, जनसम्बन्ध, लोकप्रियता र विकासवादी नेताको छविका कारण उनलाई जित निकाल्न खासै मेहनत गर्नुपर्ने देखिँदैन ।
आले र बलायरबीच लामो समयदेखि जुँगाको लडाईँ चलिरहेको थियो । हार जित जे भए पनि डोटीबाट टिकट कसले लिने भन्ने दुवैका लागि प्रतिष्ठाको विषय बनेको थियो । अहिले बलायर कैलाली गएपछि कांग्रेस कार्यकर्तालाई आलेको पक्षमा खुल्न सहज भएको छ ।
डोटीमा एकातीर एमालेले तुलनात्मकरुपमा कमजोर उम्मेदवार गौरी ओलीलाई खडा गरेको छ भने अर्कोतर्फ गौरीलाई टिकट दिएको भन्दै रुष्ट भएका एमाले कार्यकर्ता आलेतर्फ लागेका छन् ।
विकास प्रेमी नेताको रुपमा परिचित आले पछिल्लो पटक पर्यटन मन्त्री हुँदा सुधारका काम गरेपछि झन चर्चामा छन् । उनले राष्ट्रिय र स्थानीयस्तरमा गरेका कामहरु नै जितको आधार बनेकाछन ।
पर्यटकीय विकास, विमानस्थल निर्माण, त्रिवि विमानस्थलको व्यवस्थापन, बतास समूहमाथिको कारवाही, तारे होटेलहरुसँग कर असुली र कारवाही, क्यासिनो व्यवस्थापन लगायतमा उनको भूमिका अविस्मरणीय छ ।
डोटी जिल्लाका मात्र नभइ आले कुनैपनि दीन दुःखीको सेवा र सहयोगका लागि व्यक्तिगतरुपमै अनवरत प्रयत्नशील रहन्छन् । आलेसंगै प्रदेश सभा सदस्य (क ) मा नरेन्द्र बहादुर सिंह र प्रदेश सभा सदस्य ( ख ) मा शिव सिं ओलि पनि बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएकाछन् ।