प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष निर्वाचनतर्फ साढे पाँच हजारभन्दा बढीकाे प्रतिस्पर्धा

काठमाडाैं । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २,४१२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् ।

त्यसमध्ये २,१८७ जना पुरुष र २२५ जना महिला रहेका छन् ।

देशका सातवटा प्रदेशसभामा प्रत्यक्षतर्फ कुल ३,२२४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसमध्ये २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । त्यस्तै, प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान ‘अन्य’ भनेर चिनाउने एक जनाले पनि उम्मेदवारी दिएका छन् ।

देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१