नवौँ राष्ट्रिय खेलकुद : ४ सय ४ स्वर्णका लागि ६ हजार १ सय ५७ खेलाडी

काठमाडौं  । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शुक्रबार कास्की स्थित पोखरा रंगशालामा साँझ ४ बजे हुँदै छ। प्रतियोगितालाई उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन्। राष्ट्रपति अस्वस्थ भएपछि उपराष्ट्रपतिले प्रतियोगिताको उद्घाटन गर्न लागेका हुन्। उपराष्ट्रपति बिहिबार नै पोखरा आइसकेका छन्।

प्रतियोगितामा कुल ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन्। यस्तोमा उद्घाटन अघि नै केहि खेल समापन भइसकेका छन्। जसमा पुरुष क्रिकेट काठमाडौंमा समापन हुँदा फेन्सीङको अन्तिम इभेन्ट पोखरामा हुँदै छ।

४ वर्षपछि हुन लागेको प्रतियोगितामा अधिकांश ४० सालमा नै बनेका संरचनामा खेलहरु छन्। यद्यपि केहि वर्ष अघि बनेका नयाँ पूर्वाधारहरु सहयोगी रहने छन्। यसअघि २०४० सालमा गण्डकीले प्रतियोगिता आयोजना गरेको थियो। ३९ वर्षपछि गण्डकीमा पुन राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएको हो। गण्डकी प्रदेशका अन्य जिल्लामा पनि केहि प्रतियोगिताहरु रहेका छन्।

यो पटक राष्ट्रिय खेलकुदमा विभागीय तीन टिम (पुलिस, एपिएफ र आर्मी) सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले विभिन्न ३६ खेलका ४ सय ४ इभेन्टमा प्रतिस्पर्धा हुँदै छ।

अधिकांशका खेलाडी तथा खेल सम्बद्ध पधादिकारीहरु गण्डकी प्रदेश आइसकेको सदस्यसचिव टंक लाल घिसिङले जानकारी दिए। उनले भने ‘राष्ट्रिय खेलकुदको सबै तयारी पुरा भएको छ, खेलाडीका लागि सर्वाधिक ठुलो इभेन्टको सफल आयोजनामा सबै पक्षको साथ बलियो रहने विश्वास छ।’

घिसिङले आफू नियुक्त भएको छोटो समयमा नै महत्वपुर्ण प्रतियोगिता सम्पन्न गर्न लागेको भन्दै सबै पक्षको सहयोगमा सफलता हात पार्न लागेको बताए।

उनले भने ‘खेलाडीका लागि महत्वपुर्ण प्रतियोगिता हो, यहाँ कुन पदाधिकारीले के भन्छ, या गर्छ भन्ने कुराले अर्थ राख्दैन।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१