• २०८३ असार ४
  • 2026 June 18, Thursday

घनश्यामको क्षेत्रमा दलका भन्दा धेरै स्वतन्त्र उम्मेदवार

काठमाडौँ । हालै नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देहीमा–१ मा स्वतन्त्र उम्मेदवारको बाहुल्यता रहेको छ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी नेता भुसालको क्षेत्रमा ९ दलले उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्र रूपमा भुसालसहित १२ जना रहेका छन् ।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले चुनाव जितका थिए । अहिले पूर्व एमाले नेता भुसाल स्वतन्त्रबाट त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा छन् भने एमाले देव दह नगर कमिटीको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईँदेखि काँग्रेस छाडेर स्वतन्त्र बसेका मातृका प्रसाद यादवसम्मको उम्मेदवारी रहेको छ । यस्तै युवापुस्ताका समाजसेवी लीलामणि न्यौपानेले लगायत उम्मेदवारी दिएका छन् ।

रुपन्देही क्षेत्र नं.१ को निर्वाचन निर्वाचनमा कार्यालयका सहायक निर्वाचन अधिकृत सीता घिमिरेका अनुसार ४७ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। जसमा प्रतिनिधिसभामा २१ र प्रदेशसभामा २६ जना रहेका छन् । जसमध्ये प्रदेश अन्तर्गत १(क) मा ११ जना र १(ख) मा १५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

थरी थरीका चुनाव चिन्ह

रुपन्देहीको क्षेत्र १ मा स्वतन्त्र नाममा हालै पार्टी छाडेका उम्मेदवारको पनि तुलनात्मक रूपमा पकड रहेको स्थानीयहरू बताउँछन् । १२ जना स्वतन्त्र उम्मेदवारले अनौठा अनौठा चुनाव चिन्ह पाएका छन् ।

स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले त्रिभुज चुनाव चिन्ह, एमाले नगर अध्यक्ष छाडेका टीकाराम चापागाईंले चापाकल, काँग्रेस परित्याग गरेका मातृका प्रसाद यादवले महिला, युवा समाजसेवी लीलामणि न्यौपानेले पुतली, अर्का उम्मेदवार लक्ष्मण भण्डारीले टायर, धनराज भुर्तेलले सिरिन्ज , दुर्गा पाण्डेले खरायो ,दीपक शर्माले डोजर, टिकामणि पुनले सूर्यमुखी फूल, कमलनाथ भुसालले क्रम खुकुरी, कमल पाण्डेले माछा विष्णु प्रसाद चौधरीले ट्राफिक प्रहरी चुनाव चिन्ह पाएका छन् ।

एमाले उम्मेदवार छविलाल विश्वकर्मा गठबन्धनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल र यस क्षेत्रमा एमाले देव दह नगर अध्यक्ष परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंबीच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।