काठमाडौँ । ओखलढुंगामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा सबै राजनीतिक दल, नेता र सर्वसाधारणका प्रिय नेता हुन् । चुनावको बेला मात्र नभइ अन्य समयामा पनि उनी जनताको सेवामा अनवरत खटिरहेका हुन्छन् ।
खतिवडाको एउटा विशेषता के हो भने उनी कसैसंग प्रतिशोध राख्दैनन् । प्रजातन्त्रका लागि भने उनी कसैसंग सम्झौता पनि गर्दैनन् । हकी स्वभावका खतिवडा निकै मिलनसार र सहयोगी छन् ।
पदमा हुँदा होस वा पदमा नहुँदा उनले काठमाडौंदेखि ओखलढुंगासम्म दिलोज्यान दिएर काम गरेकाछन् । जिल्लाको विकास र राष्ट्रिय राजनीतिमा उत्पन्न जटिलताको निकासका लागि उनले महत्वपूर्ण भूमिका खेल्दै आएकाछन् ।
ओखलढुंगाको विकास गर्न भूमिका खेल्नेदेखि भूकम्प, कोरोना भाइरसको महामारी, बाढीपहिरो लगायत ओखलढुंगे जनताको हरेक दुःखमा मलमपट्टि लगाउन अहोरात्र खटिने नेता हुन् खतिवडा । उनको लोकप्रियता ओखलढुंगा जिल्लामा मात्र सीमित नभएर देशव्यापी छ भन्ने कांग्रेसको गत चौधौँ महाधिवेशनमा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएबाटै प्रमाणित भैसकेको छ ।
कतिपय नेताहरु राजधानी केन्द्रीत भएर राजनीति गरिरहँदा रामहरि चाँहि गाउँमा पुगिरहेका हुन्थे । शासकीय र राजकीय कुनै पदमा नरहँदा पनि जिल्लाका निर्वाचित सांसदले भन्दा कैयौं गुणा बढी जिल्लाको लागि खटेर काम गरेका छन् । युवाहरुलाई अवसर दिलाईदिएका छन् । विकास योजना कार्यान्वयन गरेका छन् ।
जिल्लामा राष्ट्रिय प्रशारण लाइनको विद्युत, सडक सञ्जाल विस्तार लगायतका योजना आफ्नो प्राथमिकतामा रहेको खतिवडा बताउँछन् ।
विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका यज्ञराज सुनुवार यसपटक पनि खतिवडाको प्रतिद्वन्द्वी हुन् । अघिल्लो निर्वाचनमा खतिवडा थोरै मतान्तरले सुनुवारसँग पराजित भएका थिए । त्यसबखत एमाले र माओवादीको गठवन्धन रहेको थियो ।
अहिले दुवै नेता पुनः प्रतिस्पर्धामा उत्रिएका छन । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले वाम गठबन्धनका कारण सुनुवारलाई सहयोग गरेको थियो । यसपटक सत्ता गठबन्धन बनाएर खतिवडालाई सहयोग गर्दैछ । यसकारण यसपटक खतिवडाको जित सुनिश्चित देखिन्छ ।
तत्कालीन वामगठबन्धनका उम्मेदवार सुनुवारले कांग्रेसका खतिवडालाई ५ हजार २२३ मतले पराजित गरेका थिए । त्यतिबेला माओवादी केन्द्रको सहयोग पाएका सुनुवारले ३२ हजार ५८० मत ल्याएका थिए भने खतिवडा एक्लैले २७ हजार ३२७ मत ल्याएका थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ । साथै, योपटक माओवादीसँग गठबन्धन पनि गरेकाले वडाको भोटमा कांग्रेस उम्मेदवार अगाडि रहेको देखाउँछ । स्थानीय निर्वाचनमा वडा तहमा कांग्रेसको सबभन्दा बढी ३२ हजार २८८ मत, दोस्रोमा एमालेको २९ हजार ५९१ मत छ भने तेस्रोमा माओवादी केन्द्रको ६ हजार ९६१ मत आएको थियो । त्यसपछि जसपाको २ हजार १९४ मत, एकीकृत समाजवादीको ५२१ र राप्रपा नेपालको १४६ मत आएको थियो ।
एकीकृत समाजवादीले छुट्टै उम्मेदवार उठाएकाले खतिवडालाई सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रको मत मात्रै पर्ने देखिन्छ । एमालेलाई भने जसपाको मत पनि सहयोगी बन्नेछ ।
सुनुवार एमाले विभाजन हुनुपूर्व पार्टीभित्र माधव नेपालको समूहमा थिए । पछि नेपालले पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि उनी एमालेमा नै बसे । तर, संसद् विघटनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बेलामा भने उनी संसदमा तटस्थ बसे । त्यसले गर्दा सुरूमा एमाले नेतृत्व उनीसँग असन्तुष्ट भए पनि अहिले उनैलाई टिकट दिएर पठाएको छ ।
पार्टीको नेतृत्व उनीसँग कन्भिन्स भएपनि स्थानीयस्तरमा भने पुरानो गुटगत मानसिकताको असर उनलाई पर्ने देखिन्छ । ओलीलाई असहयोग गरेको व्यक्तिलाई टिकट दिएको भनेर असन्तुष्टिसमेत बढेको छ । यसको अशरसमेत सुनुवारले भोग्नुपर्ने छ ।