काठमाडौँ । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ।
डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो एकीकृत समाजवादीले कांग्रेस (बिपी) का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको हो।
कांग्रेसले आफूहरूलाई प्रदेश सभामा उठ्न नदिएपछि यस्तो निर्णय लिइएको एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष कविन्द्र बिष्टले बताए।
गठबन्धनविरूद्ध नउभिन एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आग्रह गरे पनि बाध्यात्मक परिस्थितिका कारण देउवालाई समर्थन गर्न नसकिने जानकारी गराएको बिष्टले बताए।
एकीकृत समाजवादीले प्रतिनिधि सभामा मल्ललाई सघाउने र प्रदेशमा कांग्रेस (बिपी)ले एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने विषयमा दुई दलबीच लिखित सहमति नै भएको छ।
यसअघि मल्ललाई नेकपा (एमाले) ले समर्थन गर्ने जनाएको थियो। मल्ललाई सघाउन एमालेले डडेल्धुरामा आफ्नो उम्मेदवार नै उठाएको छैन।
शुक्रबार मात्रै एमाले जिल्ला कमिटीले मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ।
गत स्थानीय चुनावमको मतपरिणामअनुसार डडेल्धुरामा कांग्रेसका वडाध्यक्षहरूको मत २१ हजार ७३५ रहेको छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ र एकीकृत समाजवादीको ५ हजार ४१ रहेको छ। यस्तै कांग्रेस(विपी) को मत ३हजार ६०४ रहेको छ।
एकीकृत समाजवादीले प्रदेश सभा (क) मा तारा जोशीलाई उम्मेदवार बनाएको छ।