ललितपुर ३ मा ‘तीर’ को चुनौती, पम्फा भुषाल संकटमा (भिडिओसहित)

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा अस्तित्व रक्षाको संकटमा परेको राप्रपा नेपालले ललितपुर ३ मा आश देखाएको छ ।

राप्रपा नेपालकातर्फबाट ललितपुर ३ मा उम्मेदवार रहेका राजेन्द्रप्रसाद ओझाले सत्ता गठवन्धन र नेकपा एमालेलाई चुनौती दिँदै बलियो उम्मेदवारकारुपमा प्रस्तुत भएपछि राप्रपा नेपाल उत्साहीत भएको हो ।

हुलाक संचारसंग कुरा गर्दै नेता ओझाले गठवन्धनकी उम्मेदवार पम्फा भुषाल यसपटक नराम्ररी पराजित हुने दाबी गरे । पटक–पटक निर्वाचित भुषालले आफनो निर्वाचन क्षेत्रमा सिन्कोसमेत भाँच्न नसकेकाले त्यहाँका मतदाता विकल्पको खोजीमा रहेको बताए ।

एमालेका उम्मेदवार अमृत खड्का पनि कमजोर उम्मेदवार भएकाले यसपटक ललितपुर ३ मा राप्रपा नेपालकातर्फबाट आफूले बाजी मार्ने उनको दाबी छ । राप्रपा नेपालको दृष्टिकोण, प्रतिवद्धता र आफू जनतामाझ भिजेको व्यक्ति भएकाले जित निकाल्न सहज भएको उनी बताउँछन् ।

नेता ओझाले अध्यक्ष कमल थापा एमालेको चुनाव चिन्ह सूर्यबाट उठेपनि अन्य उम्मेदवारहरु ‘तीर’ चुनाव चिन्हमा प्रतिष्पर्धा गरिरहेको बताए । उनले राप्रपा नेपालले राजसंस्थाको मुद्दा नछाडेकोसमेत स्पष्ट पारे ।

मुलुकको हितका लागि राजसंस्था र सनातन धर्म अपरिहार्य रहेको उनको भनाइ छ ।

विस्तृत भिडियोमा