
काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडिओ अहिले हटाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले दिनुभएको सुझावलाई सम्मान गर्दै यस अगाडि पोस्ट भएको निर्वाचन शिक्षासम्बन्धी भिडियो सामग्री परिमार्जनका लागि हटाएका छौँ । यसबाट सामाजिक सञ्जाल प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति निर्वाचन आयोग क्षमा प्रार्थी छ ।
टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ ।
आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडिओलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ ।