काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक–पटक संसद बिघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि बिजयी गराउनुपर्ने बताएका हुन् ।
उनले नेपाली जनताको लामो लडाइँपछि स्थापित भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकीर गरे ।
देउवाले देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुद बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनकाे भनाइ छ ।
प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक बिस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराइने पनि बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले संविधानको रक्षाका लागि प्रतिगमनलाई पराजित गर्दै अग्रगमनका लागि गठबन्धनलाई बिजयी गराउनुपर्ने बताए ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमाले विजयी भए मुलुकमा फेरि प्रतिगमनको खतरा हुने भएकाले निर्वाचनलाई होसियारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राखे ।