टी-२० वर्ल्ड कप फाइनल : जितका लागि ओपनिङ जाेडीले खेल्न सक्छ महत्वपूर्ण भुमिका

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको हाे ।

दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् ।

यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् ।

अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसहित भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।

मेलबर्नमा आइतबार हुने टी–२० विश्वकपको फाइनलको नतिजा धेरै हदसम्म पाकिस्तान र इङ्ल्यान्डको ओपनिङ जोडीमा निर्भर रहनेछ । वास्तवमा यी जोडीले सेमिफाइनलमा दुवैलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

साँच्चै, भन्ने हो भने यो फाइनलको खेलको दिशा पावरप्लेले तय गर्नेछ । यसको कारण दुवै टोलीको ब्याटिङको ओपनिङ जोडी हुन् ।

इंग्ल्याण्डका ओपनर जोस बटलर र एलेक्स हेल्सले इङ्ल्यान्डका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

पाकिस्तानका ओपनर कप्तान बाबर आजम र रिजवानको जोडीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतकीय साझेदारी गरेका थिए ।