• २०८३ असार ४
  • 2026 June 18, Thursday

बागी उम्मेदवारी दिने र सघाउने ५ जनालाई पार्टीबाट निकाल्यो कांग्रेसले

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले पाँच जना सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्णयविरुद्ध लागेको भन्दै कांग्रेसले पाँच जनालाई पार्टीबाट निकालेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका छन् ।

‘पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।