पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एअरले गर्ने, बनारस, दिल्ली र देहरादुन हुनेछ गन्तव्य

काठमाडाैं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

आउँदो जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गर्न पाउँदा गौरवान्दित महसुस गरेको कम्पनीले जनाएको छ ।

आइतवार, मङ्गलवार र बिहीवार गरी हप्तामा तीन दिन पोखरा–बनारस उडान गर्ने बुद्धले जनाएको छ । यस्तै, पोखरा–दिल्ली र पोखरा देहरादुन उडानका लागि एअर ट्राफिक सर्भिसेस अर्थात् एअर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।

अहिले बुद्ध एअरलाइन्सले काठमाण्डौ–बनारस नियमित उडान गर्दै आएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । मङ्सिर १४ गतेदेखि यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ हुनेछ । आउँदो जनवरीदेखि विमानस्थलबाट व्यावसायिक उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।