पशुपतिनाथ मन्दिरमा भारतीय राजदूतावासको ‘शिव पूजा’ कार्यक्रम

काठमाडाैं । भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको एक पूज्य स्थलमा कार्तिक २८ साँझ ‘शिव पूजा’ कार्यक्रम गरेकाे छ ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रमको आयोजना गरिएको हो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए ।

कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य पनि गरेका थिए । यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ । करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।

कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएकाे थियाे । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत भएकाे थियाे ।

उक्त कार्यक्रमकाे उद्घाटन पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले गरेका थिए ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढी उपस्थित थिए ।