प्रदीप पौडेलको समर्थन गर्दै पूर्वजर्नेल प्रेमसिंह बस्न्यातको अपिल : ईश्वर पोख्रेललाई ठाउँको ठाउँ रोकाैँ (भिडिओसहित)

काठमाडौं । डा.प्रेमसिंह बस्न्यातले देशको माटो बचाउनेलाई मात्र भोट दिन आग्रह गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा माटो बेचेर राजनीति गर्नेलाई डाँडो कटाउनुपर्ने बताएका हुन् ।

एउटा पेशाबाट सेवा निवृत्त भएका कुनै पनि राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरुलाई विभिन्न आयोगका प्रमुख बनाउने प्रथा तत्काल खारेज गर्नुपर्ने बताए ।

उनले भने,‘आयोगको प्रमुख लोकसेवा आयोगबाट प्रतिस्पर्धामा ल्याएर गराइयोस्, यदि त्यस्तो गर्न सकिएन भने राजनीतिक दलका झोलेहरु आयोग भरी हुनेछन्, र देशको हितमा केही काम हुने छैनन् । उनीहरुले ५ सय खानेलाई अख्तियारले समात्ने तर ५ हजार खानेलाई छाड्नेछन् ।’

बस्न्यातले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनामाथि पनि अपराध गरेको आरोप लगाए । उनले भने,‘ओलीजी कति झुठो बोल्नुहुन्छ, त्यो त मैले भनिरहनु पर्दैन ।’

उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पनि कडा प्रहार गरे । उनले भने,‘नेपाली सेनासँग आवद्ध भएको कारणले म यो कुरा भन्दैछु, रिङ रोडभन्दा उता सबै प्लटिङ हेर्नुहोस, त्यहाँका ठूला हाउजिङ सबै, त्यहाँ पहिलो लकडाउन हुँदा सबै डाँडो फाँडेर प्लटिङ गरिरहेका थिए, मैले देखेर भनेको हुँ ।’

उनले पोखरेलले पानी ट्यांकीमा पैसा राखेको कुरा त सबैलाई थाहा भएको सुनाए । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा रुक्मांगत कटवाल प्रकरणमा पनि डेढ करोड पैसा खाएको भनेर आफूलाई माओवादीका मान्छेले प्रमाण दिएको स्मरण गराए ।

उनले ईश्वर पोखरेलजस्तो खराब व्यक्तिलाई भोट नहाल्न पनि अपिल गरे । सेनालाई बद्नाम गरेर कोरोना कालमा औषधीको ठेक्का पनि पोखरेलले नै हालेको गम्भीर आरोप लगाए ।

त्यस्तै, काठमाडौं–निजगढ फाष्ट ट्रयाकमा पनि पैसाको लागि ठेक्का हाल्ने काम ईश्वर पोखरेलले नै गरेको उनको गम्भीर आरोप छ । चप्पल लगाएर ओखलढुंगाबाट काठमाडौं आएका ईश्वर पोखरेल अहिले खर्बपती बनेको भन्दै उनले कडा आक्रोश पोखे ।

उनले काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जिताउनुपर्ने र ईश्वर पोखरेललाई ठाउँका ठाउँ हराउनुपर्ने भन्दै आम मतदाताहरुसँग अपिल पनि गरे ।

हेर्नुहाेस् भिडिओ :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१