प्रचण्ड–देउवा : दिलदार कि दाउमा ?

काठमाडाैं । सत्ता गठवन्धनका प्रमुख दुई नेता प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच जति घनिष्टता छ त्यत्तिकै शंका छ । यो कुरा विगतको राजनीतिक इतिहासले पनि पुष्टि गरेको छ ।

आसन्न निर्वाचनका लागि गठवन्धनका उम्मेदवारलाई जिताउन दुवै नेता जति प्रतिवद्ध देखिन्छन् निर्वाचनपछिको राजनीतिक अवस्था आफू अनुकल बनाउनपनि दुवै नेता उत्तिकै सक्रिय छन् । दाहाल आफू प्रधानमन्त्री बन्न चाहन्छन् भने देउवा पनि ठूलो दलको हैसियतामा प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

दाहालले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमार्फत् आफू प्रधानमन्त्री बन्ने वातावरण तयार पारेकाछन् भने देउवाले प्रवक्ता डा. प्रकाशशरण महतमार्फत् आफनो माहोल सृजना गरेका छन् ।

विचार, दर्शन र राजनीतिक सिद्धान्त केही नमिलेपनि एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीलाई पाखा लगाउन दाहाल र देउवा एकठाउँ उभिएका हुन् ।

संविधान निर्दिष्ट समाजवाद तर्फको यात्रालाई सत्ता गठबन्धनले फरक फरक रूपमा अर्थ्याउने गर्छन् । स्थिर सरकार बनेपछि त्यसतर्फको यात्रामा माओवादी र कांग्रेसले कहिलेसम्म समान नीति लिएर अघि बढ्न सक्छन् भन्ने विषयमा अहिलेसम्म प्रष्ट छैन ।

कम्युनिस्ट पार्टीले लक्ष्य प्राप्तिको बाटोमा आउने अवरोधहरूको मूल्याङ्कन गर्दा पार्टीको प्रमुख अन्तर्विरोध अर्थात् प्रधान शत्रु छुट्टाउने गर्छन्। माओवादीले त्यसै गर्दै आएको थियो ।

राजसंस्थाको अन्त्यपछि उसले सामन्तवादलाई मुख्य अवरोध र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ भन्ने मान्यता बोक्ने गरेको थियो ।

अहिले त्यही कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न प्रचण्ड देशभर डुलिरहेका छन् । आफैँले टाउकोको मूल्य तोकेका प्रचण्डका लागि देउवा पनि देशभर हँसिया हथौडामा मत मागिरहेका छन् ।

शान्ति प्रक्रियालाई अन्तिम टुङ्गोमा पुर्‍याउनु पर्ने दुई मुख्य सरोकारवाला भएकाले अहिलेको यो अस्वभाविक समीकरणलाई कतिपयले स्वाभाविक पनि ठानेका छन् ।

प्रचण्ड–देउवाले राजनीतिक संस्कार अनि दल र प्रणालीको संस्थागत विकासको निम्ति उदार भएर नभई जीवन र राजनीतिको उत्तरार्द्धमा आफ्नो र आफ्नो समूहको स्वार्थलाई प्राथमिकतामा राखेको भनी आलोचना पनि खेपीरहेका छन् ।

राजनीतिक र वैचारिक रूपमा माओवादीको निम्ति र लामो संसदीय अभ्यासको अनुभवले कांग्रेसको निम्ति एमाले मित्र–शक्ति हुनुपर्ने हो । तर दुवैले उसलाई अहिले राजनीतिक दुश्मनको कित्तामा राखेर व्यवहार गरिरहेका छन् ।

प्रतिशोधमा एमाले नेतृत्वको व्यवहार पनि कम्तीमा चुनावी मैदानमा त्यही रूपमा प्रस्तुत भएको देखिन्छ । त्यसैले वर्तमान राजनीतिक नेतृत्वले दाउपेचको राजनीतिका अघिल्तिर निष्ठा र नीतिलाई अवमूल्यन गरेको देखिन्छ ।

जसले गर्दा पार्टीभित्रबाटै नेतृत्वमाथि बलियो हस्तक्षेप नभएमा आगामी वर्षहरूमा अस्थिर र सिद्धान्तहीन राजनीति झन् झाँगिने देखिन्छ । प्रचण्ड र देउवा दिलदार नभइ आ–आफनो दाउमा छन् । शायद निर्वाचनपछि यो दाउ र दाउपेच छताछुल्ल हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१