• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

हटाउने सूचना आएपछि वागमती किनाराका सुकुम्बासी उत्रिए आन्दाेलनमा

काठमाडाैं । आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित भएको भन्दै भूमिहिन, सुकुम्वासी लगायतले काठमाडौंमा खबरदारी र्‍याली निकालेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघ लगायत दर्जन बढी संघसंगठनहरुको अगुवाइमा माइतिघरदेखि बानेश्वरसम्म खवरदारी र्‍याली निकालिएको हो ।

आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहीन एक हौँ, हामी न्याय चाहन्छौँलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।