निर्वाचनको व्यवस्थापकीयलगायत सुरक्षाका सबै तयारी पूरा : आयाेग

काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगायत सुरक्षाका सबै तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाइने, प्रचार प्रसार गर्न नपाइने बताए ।

मतगणनाको काम नभएसम्म सभा, जुलुसलगायतका प्रचार-प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उनले बताए । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने थपलियाले जानकारी दिए । उनले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायत कुनै पनि निर्वाचन विरोधि कामलाई रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताए ।

निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाइए पुनः निर्वाचन गराउने स्पष्ट पारे । त्यस्तै, थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राखे ।

आयोगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ । मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१