• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेको उदय : संयोग कि योजना ?

काठमाडाैं । आमनिर्वाचनको प्रारम्भिक नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चमत्कारिक परिणाम ल्याइरहेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ स्वतन्त्र पार्टीले उल्लेख नतिजा प्रदर्शन गरेको छ ।

अहिले सबैको मुखमा एउटै प्रश्न छ : रविको पार्टीलाई यति धेरै मत कसरी आयो ? अब रविको पार्टी सरकारमा जान्छ ?

टेलिभिजनको जागिर छाडेर राजनीतिक दल खोलेकाबेला धेरैले उनको खिल्ली उडाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘अहिले मलाई उडाउनेहरु कुनैदिन मेरै समाचारको हेडलाइन बनाउनेछन् ।’

अहिले अवस्था हेर्दा त्यस्तै देखिन्छ । रविको पार्टीका विषयलाई जोडेर आगामी राजनीतिक यात्रा र सरकार निर्माणको बहससमेत प्रारम्भ भैसकेको छ ।

यसरी हेर्दा कतिपयले रविको उदयलाई संयोग ठानेकाछन । विद्यमान राजनीतिक दल र नेताहरुबाट वाक्कदिक्क भएकाहरुले विकल्पको रुपमा रविलाई छानेका हुन् । तर, स्वयं रवि भने राजनीतिमा आउने आफनो लामो तयारी रहेको बताउँछन् ।

कतिपयले रविलाई शंकाको नजरले हेरेकाछन् । उनी पश्चिमाहरुको आडमा उदाइरहेको उनीहरुको शंका छ । उनीहरुका तर्क र कतिपय राजनीतिक मुद्दामा रविको अलमल देख्दा त्यो सत्य जस्तो पनि लाग्छ ।

केही महिनाअघि मात्र खुलेको र पहिलो पटक निर्वाचनमा भाग लिएको उक्त दलले प्राप्त गरिरहेको प्रारम्भिक नतिजालाई कतिपय राजनीतिशास्त्रीले पुराना दलप्रतिको वितृष्णाको मत भनिरहेका छन्।

उक्त दलका केन्द्रीय प्रवक्ता डा. मुकुल ढकाल चाहिँ अहिलेको प्रारम्भिक नतिजा आफूहरूले अपेक्षा गरे अनुरूपकै भएको बताउँछन्।

नेपालको लोकतान्त्रिक इतिहासमा यस पटक मतदानबाट क्रान्ति हुन खोजेको भन्दै त्यसले आफूहरूलाई उत्साहित बनाएको स्वतन्त्र पार्टीका नेताहरु बताउँछन् ।

ढकालका भनाइमा उक्त दलले चुनावको अन्तिम परिणाम आएपछि सांसदको संख्या हेरेर सरकारमा जाने वा नजाने रणनीति बनाउनेछ । उल्लेख मत आए सरकारको नेतृत्व गर्न पनि तयार हुने ढकाल बताउँछन् ।

स्वतन्त्र पार्टीको उदयपछि लामो समयदेखि सरकारको बागडोर सम्हालिरहेका कांग्रेस, एमाले र माओवादी केन्द्र जस्ता दलहरुलाई पनि दुई कदम पछाडी हट्नुपर्ने स्थिति आएको छ । सरकार निर्माण र राष्ट्रिय मुद्दामा स्वतन्त्र पार्टी निर्णायक हुने स्थिति आएपछि ठूला दलहरु दबाबमा परेका छन् ।