
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् ।
गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।
देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो’, उनले भने, ‘देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।’
उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, ‘मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।’
अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । ‘गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु’, उनले भने, ‘मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।’