
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा युवामाझ लोकप्रिय नेता हुन् । दुवैजना युवा प्रेमी नेता भए पनि यसपटकको निर्वाचनमा युवामाझ उनीहरुको कुनै प्रभाव पर्न सकेन ।
प्रत्यक्ष र समानुपातिक निर्वाचनमा कांग्रेसले पाएको मत युवाहरुको नभएको बताउँछन् युवा राजनीतिज्ञ दीपकराज जोशी । उनका अनुसार कांग्रेसले पाएको मत देउवा र रामचन्द्र पुस्ताकै हो । १८ वर्षदेखि २५ वर्ष उमेरसमूहका युवाहरुले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेका छन् ।
गगन र विश्वप्रकाश युवा प्रिय नेता भएपनि उनीहरुले युवाहरुको मत तान्न कुनै कार्यक्रम र योजना संचालन गर्न नसकेको जोेशीको आरोप छ । महामन्त्री चुनिएपछि उनीहरुले मुखले मात्रै युवा भन्ने गरेको तर युवा लक्षित कुनै काम नगरेको उनी बताउँछन् ।
जोशी भन्छन्, ‘गगन र विश्वप्रकाश महामन्त्री भएपछि कांग्रेसमा के परिवर्तन भयो ? युवाहरुका लागि उनीहरुले गरेको काम र ल्याएको कार्यक्रम के हो ? केही छैन । चुनावमा युवाहरुको मत स्वतन्त्र पार्टीलाई गएको छ । यो अवस्थामा युवा प्रिय भन्ने नेताहरु पदमा रहिरहन मिल्छ ? राजीनामा दिनु पर्दैन ?’
शेरबहादुर देउवाले रामचन्द्र वा गगन कसैलाई पनि प्रधानमन्त्री नबनाउने जोशीको दाबी छ । देउवा आफैँ प्रधानमन्त्री बन्ने योजनामा छन् ।
चुनावमा समानुपातिकमा एमालेले पाएको मतले एमाले र अध्यक्ष केपी शर्मा ओली सर्वाधिक शक्तिशाली देखिएको जोशीको दाबी छ । सबै शक्ति एकठाउँ हुँदा पनि एमालेलाई हराउन नसकेको उनी बताउँछन् ।
सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना भएपनि त्यो टिकाउ भने हुने छैन । मन्त्री बन्न जस्तोसुकै कदम चाल्न तयार दलका सांसदका कारण अबको राजनीतिक अवस्था भने अस्थिर नै हुनेछ ।
देशी विदेशी शक्तिले मुलुकमा थप अस्थिरता मच्चाउन प्रयास गरेपनि संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नु आत्मघाती हुने जोशीको तर्क छ ।
विस्तृत भिडिओमा :