
माेरङ । भारतको बथनाथस्थित मिरगञ्ज पुलबाट सहज रुपमा मालबाहक सवारीसाधन आवतजावत हुने भएको छ ।
मोरङ व्यापार संघको प्रतिनिधिमण्डलले भारतीय पक्षलाई भेटेर पुलबाट आयात निर्यात गर्न दिन आग्रह गरेको थियो ।
भारतीय पक्ष पुलबाट मालबाहक सवारी साधनलाई आवतजावत गर्न दिन सहमत भएको छ ।
मिरगञ्जको पुरानो पुल भासिँदा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले विगत ११ वर्षदेखि घुमाउरो बाटो प्रयोग गरेर सामान आयात–निर्यात गर्दै आएका थिए । पुरानो पुलदेखि उत्तरतर्फ पक्की नयाँ निर्माण भएको छ ।
निर्माण सम्पन्न भए पनि सो पुलबाट मालबाहक सवारी आवतजावत गर्न अनुमति दिइएको थिएन । यस क्षेत्रका उद्योगीहरुको निरन्तरको पहलपछि नयाँ पुलबाट सामान आयात गर्न दिन भारतीय पक्ष सहमत भएको हाे ।
यसअघि व्यवसायीले भान्टाबारी नाका भएर मालवस्तु नेपाल प्रवेश गराउँदै आएका थिए ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ६ सय बढी उद्योग सञ्चालनमा छन् । यी उद्योगहरुले रानी नाका भएर सामान आयात गर्ने गरेका छन् ।
यो नाकाबाट दैनिक ३ सयभन्दा बढी मालबाहक सवारी आवतजावत गर्दछन् । रानी नाकाबाट सामान आयात–निर्यात गर्दा मिरगञ्ज पुलको अर्को विकल्प छैन ।