समानुपातिक सूची पठाउन राजनीतिक दलहरुलाई २४ गतेसम्मको समयसीमा

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ ।

बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो ।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको हाे । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ ।

समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरुलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो ।

राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारू, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट छनौट गर्नुपर्ने हुन्छ ।