नेपालमा लोकतन्त्र होइन लैनचौरतन्त्र छ (भिडिओसहित )

काठमाडाैं । सरकार निर्माणका लागि दलहरु आन्तरिक छलफल र रणनीतिमा व्यस्त रहेकाबेला बैदेशिक शक्तिहरु पनि सक्रिय भएकाछन् । मुख्यतः नेपालस्थित विदेशी राजदूतहरु सरकारसंगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदका लागि खुलेआम लबिङमा लागेकाछन् ।

भारत, अमेरिका र युरोपियन युनियनका राजदूतहरु प्रमुख दलका नेताहरुसंग दैनिक भेटघाट गरिरहेकाछन् भने चीनले मौन कुटनीति सुरु गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम नवनिर्वाचित सांसद् दयालबहादुर शाहीका अनुसार नेपालको राजनीतिमा लैनचौर हावी भएको छ । सिधा शब्दमा उनी भन्छन्, ‘नेपालमा लोकतन्त्र छैन, लैनचौरतन्त्र मात्र छ । ’

नेता शाहीका अनुसार अबको सत्ता समीकरण एमाले र कांग्रेसकाबीचमा हुनुपर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति र आरजु राणा उपप्रधानमन्त्रीको मोडलमा जाँदा हुन्छ । यी पदमा कांग्रेसले पात्र परिवर्तन गरेपनि एमालेलाई आपत्ति हुँदैन ।

एमालेले तत्काल सरकार बनाउने सोच नबनाएपनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल मिल्न तयार भए एमालेले बाटो नछेक्ने शाहीको भनाइ छ ।

शाही भन्छन्, ‘एमाले स्वच्छ पानीको धारो हो, जसले पनि आएर नुहाएर सफा हुन पाउँछ । प्रचण्ड र माधवले पनि धारोमा नुहाएर चोखो हुन पाउँछन् ।’

कांग्रेस महामन्त्री गगन थापा र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति आक्रोश व्यक्त गर्दै उनले दुवैजनाले ढाका टोपी र दौरा सुरुवाल नलगाउनुको कारण रहस्यात्मक रहेको टिप्पणी गरे ।

लामिछानले देशभर ओलीको लहर रोक्न पार्टी खोलेर चुनावमा भाग लिएको शाहीको आरोप छ । लामिछाने सीमा पारिको शक्तिको आविष्कार भएको उनी बताउँछन् ।

विस्तृत भिडिओमा :