
काठमाडाैं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अहिले सत्तारूढ गठबन्धनमा रहेका र बाहिरका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि कांग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले बताए ।
बैठकमा दुई/तीन दिनभित्र संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ । कांग्रेस संसदीय दलको नेताको चुनाव आउने बुधबार हुने सम्भावना छ ।