बागलुङ । गल्कोट नगरपालिका- ४ निलुवामा नीलबराह मन्दिरको शिलान्यास कार्यक्रम तथा जग्गा दातालाई सम्मान गरिएकाे छ ।
निलुवा पर्यटक प्रवर्द्धन केन्द्र चमुवाका अध्यक्ष ओमकार सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हो ।
मन्दिरको सिलान्यास गर्दै गण्डकी प्रदेशसभा सदस्य जितबहादुर शेरचनले धेरै सम्भावना रहेको यस ठाउँको विकासका लागि गुरु योजना बनाएर विकासकाे खाका ल्याउने बताए ।
उनले यस ठाउँकाे विकास हुँदा सिङ्गो गलकोटमात्र नभएर बागलुङ र गण्डकी प्रदेशकै एउटा नमुना पर्यटकीय ठाउँको रुपमा विकास हुने बताए । यसका लागि उनले प्रदेश सरकारलाई निरन्तर रुपमा ध्यान केन्द्रीत गराउने विश्वाससमेत दिलाए ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले निलुवाको विकास र प्रचार-प्रसारको लागि नगरपालिकाले विगतदेखि नै धेरै काम गरेको र अबका दिनहरुमा विशेष चासोका साथ काम गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, निलुवा समाज जापानका अध्यक्ष मोहनराज शर्माले निलुवाको विकास र प्रचारका निम्ति जापानमा गठन गरिएको सामाजिक संस्था ‘निलुवा समाज जापान’ले निरन्तर रूपमा काम गरिरहेको जानकारी गराए । उनले आगामी दिनमा निर्माण हुन लागेकाे मन्दिरकालागि पनि संस्थाले आवश्यक आर्थिक सहयोग गर्ने जानकारी गराए ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष बलबहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।