सत्ता गठबन्धनभित्र राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी जोखिममा (भिडिओसहित)

काठमाडाैं । सत्ता गठबन्धनका दुई प्रमुख शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको समेत गृहकार्य सु्रु भएपछि गठबन्धनमा आबद्ध अन्य दलको भविश्यबारे आशंका उत्पन्न भएको छ ।

एमाले र माओवादीले नेकपा एकीकृत समाजवादीसँग समेत एकता गरी एउटै पार्टी बनाउने र एकमुष्ठ सरकार चलाउने योजना बनाएपछि मुख्यतः सत्ता साझेदार राप्रपा र स्वतन्त्र पार्टीलाई संकट आइपरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार सरकार टिकाउन कम्तीमा १३८ सिट आवश्यक पर्ने र त्यसका लागि राप्रपा वा स्वतन्त्र पार्टी जो भए पनि काफी हुन्छ ।

आफनो बिचार, सिद्धान्त र नीति अनुरुप जुन दल चल्न मान्यो त्योसंग सहकार्य गर्ने एमाले र माओवादी केन्द्रको रणनीति छ । यो अवस्थामा राप्रपा र स्वतन्त्र पार्टी मध्ये उनीहरुले एउटा रोज्नेछन् । यसका लागि कम्तिमा राष्ट्रपति, उपराष्ट्रपतिको चयन भैसक्नुपर्नेछ । त्यसपछि गठवन्धनमा खटपट सुरु हुने निश्चित छ ।

शिवाकोटका अनुसार गठवन्धनको अन्तरविरोधमा खेल्ने कांग्रेसको कुनै योजना छैन । कांग्रेस सातवटै प्रदेशमा संगठन विस्तार, संगठन सुदृढीकरण र विचार सबलिकरणमा लाग्नेछ । अर्काका कमजोरीमा खेलेर सत्ता हात पार्नु भन्दा आफैभित्र बलियो हुने रणनीतिमा कांग्रेस लाग्नेछ ।

नेकपा माओवादी केन्द्र लगायतसंग गरिएको गठवन्धनलाई आफूहरुले गलत भनेपनि नेतृत्वले नसुन्दा आज दुर्गती भोग्नुपरेको शिवाकोटी बताउँछन् । गठबन्धन फुट्नुमा सम्पूर्ण दोष सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको भनाइ छ ।

पार्टी भित्र कतिपय नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकासलाई तारो बनाएकोमा असन्तुष्टि जनाउँदै उनी भन्छन्, ‘गगन थापाको जासुसी गर्न प्रहरी खटाउन सक्नेहरुले ओली र प्रचण्ड के गर्दैछन् भन्ने थाहा पाउनु पर्दैन ?’

पछिल्लो समय सभापति देउवा र उनको समूहले महामन्त्रीद्वयलाई पूर्ण बेवास्ता गरेको शिवाकोटीको आरोप छ । पार्टीका कुनै पनि बैठकमा नबोलाउने, सल्लाह नगर्ने, जानकारी नदिनेसम्मका काम सभापतिले गरेको उनको जिकीर छ । अहिले सबथोक बिग्रिएपछि महामन्त्रीलाई दोष थुपार्नु आफू पन्छिने उपायबाहेक अर्को केही हुन सक्दैन ।

विस्तृत भिडिओमा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१