
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले वा नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै उपमहासचिव खतिवडाले एमालेले शत्रुतापूर्ण व्यवहार गरेको र नेकपा माओवादी केन्द्रले पनि स्वार्थगत नयाँ गठबन्धन गरेकाले पार्टी एकीकरण वा सरकारलाई समर्थन गर्ने कुरा सम्भव नभएको बताए ।
आफ्नो पार्टी संगठन सुदृढीकरणका लागि देशभर अभियानमा लाग्ने जानकारी दिँदै उनले राष्ट्रिय दल नभएकोमा हतोत्साहित हुनुपर्ने कुनै कारण नभएको प्रष्ट पारे ।
खतिवडा भन्छन्, ‘कांग्रेस नेतृ्त्वको गठबन्धन टुट्नु दुःखद् हो । यसमा कांग्रेस र माओवादी केन्द्र दुवै दोषी छन् । दुवै दलले खुसुखुस एमालेसँग छलफल गरेको देखियो । यसले मुलुकलाई फाइदा गर्दैन ।’
प्रचण्डले गठबन्धन तोड्दा श्वेतपत्र जारी गरेर सबैलाई जानकारी गराएको भए हुन्थ्यो । प्रधानमन्त्री बन्नकै लागि गठवन्धन तोडेको हो वा अन्य पनि मुद्दाहरु छन् त्यो भोलिका दिनमा खुल्दै जाला । जसरी हतारमा यो गठवन्धन बनेको छ, यो अल्पकालिन शौदाबाजी हो, चाँडै भताभुंग हुन्छ ।
सरकारमा अनेक बहुरंगी विचारका दलहरु भएकाले कुनै पनि बेला राजनीतिक दुर्घट्ना हुने खतिवडाको आशंका छ । मुलुक गम्भीर अस्थिरतातर्फ धकेलिन थालेको र यसका लागि प्रचण्ड र ओली जिम्मेवार भएको उनको भनाइ छ ।
खतिवडाका अनुसार राष्ट्रपति, उपराष्ट्रपति र सभामुख चयनपछि ओली र प्रचण्डबीचमै खटपट देखिनेछ । उनीहरुका आ–आफना स्वार्थछन् । गठवन्धनमा रहेका अन्य दलहरुका पनि आफ्ना स्वार्थ छन् । सबै दलहरुका स्वार्थ प्रकट भएपछि दुर्घट्ना अवश्यम्भावी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता र पासपोर्टमाथि छानबिन भैरहेकाबेला उनलाई स्वार्थ बाझिने गरी गृहमन्त्रालय जिम्मा लगाउनु गम्भीर त्रुटी र लापरवाही भएको उनको ठम्याइ छ । यस्ता मन्त्री र सरकारले विधि स्थापित गर्छन भन्नु हास्यास्पद मात्र हुन्छ ।
आफनो पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव आयो भन्ने कुरा गलत भएको जनाउँदै उनले सरकालाई समर्थन गर्ने र सरकारमा जाने दुवै कुरा पनि असत्य भएको बताए ।
विस्तृत भिडिओमा :