काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ नबनाइने बताएकी छिन् । सोमबार अकुपाई टुँडिखेल अभियानुले टुँडिखेलमा भूमिगत पार्किङ नबनाउन मागसहित बुझाएको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले स्थानीयवासीको सुझावबिना कुनै काम अघि नबढाइने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने भूमिगत पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नरहेको बताइन् । टुँडिखेल ऐतिहासिक एवं सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेकाले संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यक्ता हो कि होइन भन्नेबारेमा अध्ययन भइरहेको हो, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझावबिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन् ।
नगर विकास कोषलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी महानगरले दिएको बताउँदै उक्त अध्ययनपछि डीपीआर गर्न आवश्यक हुने वा नहुने निर्धारण गर्ने डंगोलले बताइन् । प्रि-फिजिबिलिटी अध्ययनका लागि महानगरले टीडीएफ (टाउन डेभलप्मेन्ट फन्ड) लाई जिम्मेवारी दिएको छ । त्यसपछि डीपीआर गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन्छ । डीपीआरपछि पनि बनाउने वा नबनाउने निर्णय हुन्छ । जनभावनाविपरीत कुनै पनि काम हुन दिँदैनौं, उनको भनाइ छ ।