म्याग्दी । कालीगण्डकी नदीका शिला (ढुंगा) भगवान् रामको मूर्ति बनाउन भारतको अयोध्या लगिने भएको छ ।
बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रबाट ती शिला पठाउन लागिएको हो ।
७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिला भारत पठाउन लागिएकाे बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।
संघीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सैद्धान्तिक सहमति जनाएको थियो ।
अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक उदारता एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज्ने काम सुरु भएको थियो ।