
काठमाडौं । पोखरा एभेन्जर्स नेपाल टि-२० लिगमा जनकपुर रोयल्सविरुद्ध ६८ रनमै अल आउट भएको छ । टस हारेर पहिला ब्याटिङकोे निम्तो पाएको पोखरा ६८ रनमा अल आउट भयो ।
यो नेपाल टि-२० लिगमा पुरै २० ओभरको खेलमा सबैभन्दा कम योगफल हो । यसअघि ९–९ ओभरको खेलमा विराटनगर सुपर किंग्स काठमाडौंसँग ५८ रनमा अल आउट भएको थियो ।
पोखराका सिद्धान्त लोहनीले १० बलमा २ छक्कासहित सर्वाधिक १७ रनमा आउट भए । आसिफ शेख १० बलमा ३ चौकासहित १६ रनमा आउट भए । कुशल मल्लले १८ बलमा २ छक्काहित १६ रन बनाए ।
लज्जास्पद ब्याटिङ गर्नेक्रममा पोखराका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सुमित महर्जन एक, आरिफ शेख दुई, उपुल थरंगा, आमिर हाम्जा शून्य र विपिन खत्री ८ रनमा आउट भए ।
जनकपुरका सोमपाल कामीले २ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिए । शराफुद्दिन अशरफले १ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभन ग्रिफिथ र पवन सरार्फले एक एक विकेट लिए ।
जनकपुर ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । यस खेलमा विजयी हुँदा जनकपुर औपचारिक रुपमा प्लेअफमा पुग्नेछ । पोखरा ८ खेलमा ३ मा जित र ५ मा हारसहित चौथो स्थानमा छ । पोखरा यस खेलमा पराजित हुँदा प्लेअफ झिनो अंक गणीतिय सम्भावना मात्रै बाँकी रहनेछ छ ।