चिसो अत्यधिक बढेपछि नेपालगन्जमा दाउरा वितरण गर्न सुरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र दाउरा वितरण गर्न थालेको छ । पछिल्ला केही दिनयता चिसो अत्यधिक बढेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न सुरु गरिएको हो । पहिलो दिन नगरका विभिन्न २३ स्थानमा वितरण गरेर दाउरा जलाइएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिए ।

गणेशमान चोक, बीपी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा चोक, चारबाहिनी चोक, भेरी अस्पताल अगाडि, बसपार्क, नेपाली कांग्रेस, एमाले र जसपा पार्टी कार्यालय अगाडि, बाँके जिल्ला अदालत परिसर, औद्योगिक क्षेत्र अगाडि, भुजई गाउँ चोक, सडक विभाग कार्यालय अगाडि, विशाल चोक, विकास नगर चोक कारकाँदो प्रहरी बिट, खजुरारोड पिपलचौतारा, गुलरिया बसपार्क प्रहरी बिट, चिडिमार टोल, खजुरा रोड शिव मन्दिर र वडा नम्बर १ स्थित शिवराम मन्दिरमा दाउरा वितरण गरिएको बोगटीले बताए ।

मानिसहरुको चहलपहल र चाप बढी भएका ठाउँहरु हेरेर आवश्यकता अनुसार दाउरा वितरण गरिएको छ । वन कार्यालयले माग गरे बमोजिम दाउरा उपलब्ध गराउन नसकेपनि प्राप्त हुने दाउराको परिमाणका आधारमा वितरण गरिने बोगटीले सुनाए ।