आहा रारा गोल्डकपको उपाधि संकटालाई

काठमाडौं । आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । २२ औँ संस्करणको गोल्डकपको उपाधिका लागि अमेरिकी टिम भुटनिज युथ स्पोर्ट्स र संकटा भिडेका थिए ।

पोखरा रंगशालामा आज भएको फाइनल खेलमा भुटनिज युथ स्पोर्ट्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि उचालेको हो ।

खेलको ८ औँ मिनेटमा सुरजज्यू ठकुरीले संकटाका लागि पहिलो गोल गरेका थिए । त्यस्तै, खेलको ३४ औँ मिनेटमा मेसुकेको गोलबाट संकटाले अग्रता दोब्बर बनायो ।

खेलको ३५ औँ मिनेटमा भुटनिज युथका लागि रेने स्यान्टिलनले गोल गर्दै अग्रता २-१ मा झारेका थिए । त्यस्तै पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेर थोमस सेकरले गोल गर्दै खेल २-२ गोलको बराबरीमा पुर्‍याएका थिए ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ११६औँ मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई उपाधि दिलाएका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१