
काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
शनिबार काठमाडौंमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै लैजाने र अन्यपक्षमा पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् ।
उनले सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता जनाए ।
तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्चुङगोला र छाङ्रुकको चिसोसँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले बिशेष ध्यान दिने उनकाे भनाइ छ ।
कार्यक्रमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भुमिकाका लागि आफूहरु परिचालित हुँदै आएको बताए ।