
काठमाडाैं । नेकपा माओवादी केन्द्रकी नेतृ देवी खड्काले सबै दलहरुले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै नेतृ खड्काले चुनावी परिणामले सबै दलहरु मिलेर अघि बढ भन्ने सन्देश दिएकाले त्यसै अनुसार सरकार निर्माण गर्दा उपयुक्त हुने बताइन् ।
खड्का भन्छिन्, ‘एमाले लगायतका दलहरु सरकारमा छन् । कांग्रेस, लोसपा लगायतका दलहरु पनि सरकारलाई समर्थन दिएर सरकारमा सहभागि हुनुपर्छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नु भनेको सरकारमा सहभागि हुनुस भनेर निम्ता पनि दिएको हो । यसकारण सबै दलहरु मिलेर आपसी समझदारीमा देश विकासमा लाग्नका लागि यो उपयु्क्त अवसर हो ।’
नेतृ खड्काका अनुसार सबै दलसंग समन्वय गरी मिलाएर अघि बढ्ने क्षमता प्रचण्डमा देखिएकाले अब पुराना कुरा उधिनेर विवादमा नलागी सबैले होस्टेमा हैंसे गर्नुपर्ने समय आएको छ । एमालेसँगको तिक्तता मेटिएको छ । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरको समझदारी भएकाले अब विगतमा जस्तो गल्ती दोहरिने छैन ।
फरक राजनीतिक सिद्धान्त र दर्शन बोकेपनि राप्रपा र रास्वपाले गणतन्त्र स्वीकार गरेको खड्काको दाबी छ । यही संविधान अनुसार चुनाव लड्ने, राष्ट्रपतिबाट शपथ लिने, प्रदेशमा चुनाव लड्ने, मुख्यमन्त्री दाबी गर्ने सबै भैसकेपछि गणतन्त्र र संघीयताको विरोध गर्न नमिल्ने उनको जिकीर छ ।
नेकपा माओवादीका लागि सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै भएको उल्लेख गर्दै उनले पार्टीमा लामो समयदेखि प्रतिबद्ध रही काम गरेका, द्वन्द्वकालदेखि अहिलेसम्म पार्टी भनेर लागेकाहरु हजारौँ व्यक्ति र परिवारको भावना बुझेर नेतृत्व अघि बढ्नुपर्ने धारणा राखिन् ।
पार्टीमा आफूमाथि अन्याय भयो कि भनेर धेरैले सोध्ने गरेको बताउँदै उनले आफू पद र प्रतिष्ठाको लागि नभइ सेवा भावमा मात्र केन्द्रित भएकाले त्यस्तो देखिएको हुनसक्ने धारणा राखिन् । आफ्नो बारेमा नेतृत्व पूर्ण जानकार भएकाले यो विषयमा आफू धेरै नबोल्ने उनको भनाइ छ ।
विस्तृत भिडिओमा :