म छिट्टै क्रिकेट मैदान फर्कन्छु : सन्दीप लामिछाने

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोपित सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए।

यो मुद्दाको किनारा भने लागिसकेको छैन।

अहिले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीप निलम्बनमा छन्। बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्नेछ।

त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ। शुक्रबार थुनामुक्त भएपछि सन्दीपले सुरुमा केही समय परिवारसँग समय बिताउने बताए। क्रिकेटमा फर्कने विषयमा सोधेको प्रश्नमा सन्दीपले भने, छिट्टै क्रिकेट मैदान फर्किन्छु। एकदमै राम्रोसँग फर्कन्छु।

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइनेछ।

उनलाई अदालतले विदेश जान रोक लगाएको छ। काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्।

अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।

आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१