• २०८३ असार ९
  • 2026 June 23, Tuesday

नेपालको उर्जा नेपालमा नै खपत गर्नुपर्नेमा उर्जामन्त्री लिङ्देनको जोड

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्।

शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापमा यस्ता प्रदर्शनीले सहयोग पुग्ने आशा गरेको बताए।

सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए।

उनले देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे। उनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए।

मन्त्री लिङदेनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिए। उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए। उनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए।

उनले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए। उनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए।