• २०८३ असार ९
  • 2026 June 23, Tuesday

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका छन्।

शुक्रबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

विश्वासको मतको प्रस्तावमाथि कर्णाली प्रदेश सभाका ४० मध्ये ३९ जनाले मतदान गरेका थिए। जसमध्ये शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ छ भने विपक्षमा १४ जना सांसद छन्।

संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्छ। मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन्।

नेकपा माओवादी केन्द्रका शर्मालाई मुख्यमन्त्री बनाउन माओवादीसहितका चार दलले समर्थन गरेका थिए।

मुख्यमन्त्रीमा उनलाई माओवादी, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २५ जना सांसदले समर्थन गरेका थिए।

कर्णाली प्रदेश सभामा ५ दलका ३९ र एक जना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत मागेयता स्वतन्त्र सांसद पनि सरकारको पक्षमा गएका छन्।

यसअघि माओवादीबाट मुख्यमन्त्रीको प्रस्ताव गर्दा एमाले, राप्रपा र नेकपा (एस) मात्र थिए। कर्णाली प्रदेश सभामा जुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद देवेन्द्र शाही उपसभामुख चयन गर्दासम्म तटस्थ बसेका थिए।

शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिनेक्रममा भने उनले पक्षमा मतदान गरेका छन्।

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका मुख्यमन्त्री शर्माले सम्भवतः शनिबारभित्र केही मन्त्री नियुक्त गर्नेछन्।

अहिले उनले नेकपा एमालेका एक जना र नेकपा माओवादीका एक जनालाई मन्त्रीमा नियुक्त गरेका छन्। तर उनीहरूको मन्त्रालय भने तोकिएको छैन।