बालकको हत्या गरेको आरोपमा काकासहित २ जना पक्राउ

रौतहट । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको छ ।

जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७